Wednesday, April 9, 2008

कोमलताको अबसान

बसन्तको आगमनले
लता लहरी कोमलताले लटरम्म हुन्छ
सुर्योदयसँग पलाएको कोमलता
असिना र हुरिसँगै बिलाउँछ कतै धुलो र हिलोमा गाढिएर
बसन्त कहाँ सधैं कोमलताको जननी हुन्छ र
कठोरताको बिम्ब पनि त हुन्छ
रितु राजको कठोरताको अघि
कोमल पुस्पलताको के नै लाग्छ र
उही बसन्तको घमाईलो बिहानीमा हाँसेको फुल
त्यही बसन्तको डरलाग्दो बतासमा टुट्छ पट्ट
फलको जननी बन्ने उत्कट अभिलाषामा
प्रनयको मिठो कल्पनामा
लहलह झुलेको सुन्दर फुल
बसन्तको कठोर प्रहारमा
फेरि धुलोमा मिल्छ गएर
यसरी नै बाच्नको लागि सँघर्ष गर्दा
उल्लासमा रमाएर फल दिने इच्छामा
सपनीहरु सँगाल्दै बसेको क्षणमा
सानो हावाको झोकाले पनि त
अबसान हुन्छ कोमलताको
धुलोमा मिल्छन् सपनाहरु
र फेरि रहन्छ कठोर काँढा मात्र
सबैलाई निराशाको झलक दिएर

- २०६४। १२ । २७ (साँझ ६:०० बजे)
दक्षिण कोरिया